प्रकाशकीय

नेपाल प्राकृतिक रूपले मात्रै हैन विभिन्‍न जातजाति र भाषाभाषीहरूले भरिएको साँस्कृतिक रूपले पनि अति सुन्दर देश हो। नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् भनेर अन्तरिम संविधान २०६३ ले पनि बताएको छ। मातृभाषाहरू राष्ट्र भाषा भएकाले राष्ट्रको सम्पत्ति हो। यसको संरक्षण र विकासले राष्ट्रको सांस्कृतिक विकासलाई दर्शाउँछ। देशले आधुनिक लोकतन्त्रको अनुभवहरूलाई कुनाकुनासम्म अभ्यास गरिरहेको अवस्थामा मातृभाषाहरूको उन्‍नतिको लागि केही कुरा लेख्नु, केही बोल्नु र सकेसम्म प्रकाशन गर्नु आधुनिक लोकतन्त्रको अभ्यासमा समावेशी कदमको निम्ति टेवा दिने कार्य हो। मातृभाषा केन्द्र नेपालले मातृभाषा विकासका लागि विभिन्‍न कार्यक्रमहरू गरी विभिन्‍न समुदायहरूलाई भाषा विकासमा सहायता पुर्‍याउँदै आएको छ।

हालै आएर यसले झापा, मोरङ, देखि लिएर बारा, पर्सासम्म बोलिने मध्य-पूर्वीय थारू भाषाको शब्दकोश प्रकाशन गरेर समुदाय विकासमा सहभागी भई राष्ट्र निर्माणमा सहयोगी भएको महसुस गरेको छ। भाषा भन्‍ने कुरा जाति र समुदायको पहिचान हो र जाति र समुदाय सिङ्गो राष्ट्रकै पहिचान हो। नेपालको पूर्वदेखि पश्चिमसम्मै तराई तथा भित्री तराई क्षेत्रमा बोलिने थारूहरूलाई एउटै सिङ्गो भाषिक विशेषतामा सीमा निर्धारण गर्नु गाह्रो कुरो हो। विशेषता भित्रको विशेषता केलाउनु अपजसे काम पनि हो। यति हुँदाहुँदै पनि समग्रता (Generality) र विशेषपना (Particularity) को महत्त्व पनि इन्कार गर्न सकिँदैन। यस हिसाबले मध्य-पूर्वीय थारू भाषाको यो शब्दकोशले झापा, मोरङ, सुनसरी, उदयपुर, सिराह, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा र पर्सासम्मका बाह्रवटा जिल्‍लाका थारू भाषालाई समेटेको छ।

सामान्यतया कुनैपनि भाषामा भेटिने लघुतम रूपखण्ड‍ वा रूपिमहरूलाई भेला गरेर त्यसको ध्वनि र अर्थ लगाउन थालिएपछि त्यस भाषाको शब्द निर्माण प्रक्रिया (Lexicon) को सुरुवात हुन्छ‍ (ट्रगट र प्राट)। तर भेला गरिएका सबै लघुतम रूपखण्डहरूको सूचि शब्दकोशको निम्ति भने नचाहिँदो थुप्रो (Redundance) हुन जान्छ। ध्वनिको साधारण विचलन हुँदाहुँदै पनि अर्थ समान रहेमा त्यति ठूलो समस्या रहँदैन। तर समान ध्वनिको अर्थ अर्काअर्कै लागेमा ध्वनि ग्रहणकर्ताहरूले साझा वस्तु मान्‍न तयार हुँदैनन्। जस्तो कि, ‘होप्भनियो भने लिम्बूहरूको निम्ति छैनभन्‍ने अर्थ लाग्छ र मन बुझाउनुपर्ने हुन्छ, तर अङ्ग्रेजहरूको निम्ति त आशाहुन्छ र पर्खिनु पर्ने कुरा बन्छ होला। फेरि त्यही होप्रामेछापका स्युबाहरूले चाहिँ खाल्डोपो बुझ्छन्।

यसरी झापामोरङदेखि बारापर्सासम्मका थारू भाषालाई एउटै सिङ्गो शब्दकोशमा मिलाएर राख्नु निकै ठूलो बोझिलो काम हो। यस शब्दकोश निर्माणमा लाग्ने साना ठूला हरेक व्यक्तिहरू वन्दनीय पात्र हुन्। भविष्यमा मध्य-पूर्वीय थारू भाषाको भाषा विकासको काममा यस शब्दकोशले गहन भूमिका निर्वाह गर्नेछ भन्‍ने आशा लिएको छु, साथै थारू भाषाको तुलनात्मक अध्ययनमा पनि यो शब्दकोश एउटा सहयोगी सामग्री बन्‍न सक्ने कुरामा पनि म आशावादी छु। धन्यवाद!

 

सुशील सुब्बा

निर्देशक, मातृभाषा केन्द्र नेपाल

ललितपुर